24*7 365 days
24*7 365 days
डा. नविन पोखरेल, भेनस अस्पताल, मध्येवानेश्वर
दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो ।
कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, अनियमित खानपान, रक्सी आदिले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउने जस्ता समस्या बढी हुन्छ । दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा पिसाब लागेको बेलामा नगर्नु पायल्स रोगको कारण हो ।
शरीरलाई आवश्यकभन्दा बढी खानु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ । पाइल्सका लागि खानु पर्ने पानी प्रशस्त पिउने, हरियो सागपात खाने, फलफुल खाने, खानासंग मुला, काँक्रो, गाँजर खाने, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ । कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने र नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया अन्तिम उपचार हो । कहिलकाही शल्यक्रिया एक पटकमा नसकिएमा दुई वा तीन पटक पनि गर्नु पर्ने हुन सक्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु बढी सेवन नगर्ने, कब्जीयत गराउने खालका खानेकुरा कम खाने ।
उपचार पद्धति के हो ?

पायल्स भै सकेपछि शल्यचिकित्ससँग परामर्श लिनु पर्छ । यसलाई जाँची सकेपछि ग्रेडिङ्ग गरिन्छ । ग्रेडिङ्ग अनुसार उपचार फरक फरक हुन्छ । तेस्रो ग्रेड भन्दा माथि भएमा अप्रेशन गर्नै पर्ने हुन्छ । तेस्रो भन्दा कम ग्रेड भएपनि रक्तचाप बढी भएको खण्डमा कहिलेकाही अप्रेशननै गर्नु पर्ने हुन्छ । साधारणतया पायल्स शुरु भएको थाहा भएमा सागसब्जी बढी खाने पानी धेरै पिउने, माछा, मासु कम खाने, भारी कुराहरु नउठाउने, नियमित रुपमा दिसा गर्ने बानी बसाउनु पर्छ जुन कुराहरु माथि नै उल्लेख गरिएको छ । पायल्स कहिलेकाही प्रोष्टेडको विरामीसँग सम्वन्धित हुन्छ । यसो भएमा प्रोष्टेडको उपचार पनि सँगै गर्नु पर्ने हुन्छ ।
अप्रेशन कस्तो हो र कति समयमा ठिक हुन्छ ?
यो मध्यम खालको अप्रेशन हो । यो अप्रेशन दुई प्रविधिबाट गर्न सकिन्छ । नयाँ प्रविधिमा स्टाप्लरको प्रयोग हुन्छ । जुन सर्वसाधारणका लागि महंगो पर्न जान्छ । अर्को चाँही प्रचलित पद्धति हो । जसमा दुखाई अलि बढी हुन्छ तर ६ हप्ता जतिमा राम्रोसँग निको हुन्छ र दोहोरीने संभावना निकै कम हुन्छ ।
अन्त्यमा, पायल्स भएर अप्रेशन गरेका विरामीहरुले खानेकुरामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ, मुख्यतया कब्जियत हुन नदिने र पानी प्रसस्त मात्रामा पिउनु पर्दछ ।
डा. नविन पोखरेल
एमविविएस, एम.एस. IHPBA (Fellow)
MCH (Surgical Gastroenterology)
Consultant Surgeon & General Surgeon
Venus Hospital, Midbaneshwor